बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै मिलेर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देश बनाउन सबै क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले लगानीकर्तालाई सुरक्षित महसुस गराउन नसक्दा उद्योगधन्दा सञ्चालन गर्न नसकिएको बताए । उनले नेपालमा लगानीकर्तालाई ठग्ने र राजनीतिक तथा अन्य क्षेत्रबाट तनाव दिने गरिएको बताउँदै लगानीको वातावरण सिर्जना नभएको जिकिर गरे ।
उनले प्रदेशलाई आवश्यक अधिकार नहुँदा उद्योगधन्दाहरू सञ्चालन गर्न नसकिएको बताए । मुख्यमन्त्री लामाले सङ्घ सरकारले हेटौँडा सिमेन्ट उद्योग सञ्चालन जिम्मेवारी प्रदान गरे दुई वर्षभित्र नाफामा ल्याउने दाबी गरे । उनले हेटौँडा कपडा उद्योग पनि पुँजी नभएर थन्किएर बसेको जिकिर गरे ।
उनले भने ‘देश बनाउन सबै सुधार गर्नुपर्ने आजको आवश्यकता छ । एक जना मात्रै सुधारिएर हुँदैन । सबै सुधार्नुपर्छ । अहिले इकोनोमिक ग्रोथ किन भएन ? यहाँ इन्भेस्टरहरुलाई ल्याउनुपर्याे । उद्योगधन्दा सञ्चालन गर्नुपर्यो नि । उद्योगधन्दा सञ्चालन गर्न इन्भेस्टरहरु ल्याउनुपर्याे । इन्भेस्टरहरु ल्याउन उनीहरूलाई सुरक्षित गर्नुपर्याे । इनभेस्टर आयो कि ठग्ने भन्ने भएपछि कहाँबाट हुन्छ ? चाहेँ सबै तहले, एक तहले मात्रै होइन, राजनीतिक क्षेत्रबाट होस् यहाँ अरू क्षेत्रबाट होस्, सबै क्षेत्रबाट तनाव दिएपछि को इनभेस्टर आउँछ नेपालमा ? त्यसैले इनभेस्टर आउने वातावरण हामी सबैले बनाउनुपर्छ । अहिले उद्योग धन्दाको कुरा गर्नुभएको छ, प्रदेशमा के अधिकार छ र उद्योगधन्दाको कुरा गर्ने रु हामीलाई हेटौँडा सिमेन्ट उद्योग दिनुस्, दुई वर्षभित्र नाफामा ल्याउँछौँ । हामीलाई दिनुस् कपडा उद्योग, चालु पुँजी नभएर थन्किएर बसेको छ । त्यो हामी गर्छौ ।’
उनले सङ्घीयताको कार्यान्वयन सही तरिकाले नहुँदा नैराश्यता छाएको बताए ।

