नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीले भूतपूर्व सैनिकलाई सधैं उच्च सम्मानमा राख्दै आएको बताएका छन्।
शुक्रबार बागलुङमा आयोजित नेपाल भूतपूर्व सैनिक संघको १७औँ साधारणसभा तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सत्तारले कांग्रेसले आफ्ना भातृसंस्थाहरूमध्ये भूतपूर्व सैनिक संघलाई विशेष स्थानमा राखेर अघि बढिरहेको स्पष्ट पारे।
“अरूले पुग्न नसकेको ठाउँमा पनि भूपू सैनिकहरू पुगेका छन्,” सत्तारले भने, “पार्टीले तपाईंहरूको संगठन र योगदानलाई नजिकबाट नियालिरहेको छ।”
उनले अहिले पार्टीभित्र विभिन्न संगठनहरूको अधिवेशन हुन नसकेको चुनौतिपूर्ण परिस्थितिमा पनि भूतपूर्व सैनिक संघले सकारात्मक सक्रियता देखाइरहेकोमा प्रशंसा गरे।
भूतपूर्व सैनिकको प्रतिनिधित्व अझ सशक्त बनाउन दुई प्रमुख बुँदामा जोड दिँदै सत्तारले भने, “केन्द्रीय महाधिवेशनमा प्रतिनिधिको संख्या बढाउनुपर्छ, साथै वडा स्तरमा रहेका प्रतिनिधिहरूले पार्टीको हितमा क्रियाशील भूमिका खेल्नुपर्छ।”
उनले पार्टीभित्र गुट र उपगुटमा नबाँडिन सुझाव दिँदै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। “अब लबिङ होइन, क्रियाशीलता देखाउने समय हो,” सत्तारले जोड दिए, “हामी सबै मिलेर कांग्रेसको हितका लागि लाग्नुपर्छ।”

