लमजुङको राईनास नगरपालिका–८ हर्राबोटमा अवस्थित सर्वोदय ज्येष्ठ नागरिक आश्रम अहिले मानविय सेवासँगै धार्मिक पर्यटनको केन्द्रका रूपमा समेत विकास हुँदै गएको छ।
वि.सं. २०६८ मा परिवारबाट तिरस्कृत, असहाय र एक्लिएका ज्येष्ठ नागरिकका लागि सुरुआत गरिएको यस आश्रम अहिले धर्म, सेवा र अध्यात्मको समागम स्थल बनेको छ। आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाका अनुसार यहाँ बसोबास गरिरहेका २० जना ज्येष्ठ नागरिकलाई आश्रय दिइने मात्र होइन, उनीहरूको स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक उन्नतिको लागि समेत विविध कार्यक्रम सञ्चालन गरिन्छ।
वि.सं. २०६७ मा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल महायज्ञमार्फत संकलित ८५ लाख रुपैयाँ र दानस्वरूप प्राप्त ६० रोपनी जग्गामा स्थापना गरिएको आश्रम पछिल्ला वर्षहरूमा ‘धर्मनाथ धाम’ को रूपमा विकास भइरहेको छ। आश्रम परिसरमा भगवान शिव, पार्वती, गणेश, हनुमानका मूर्तिहरू, कैलाश पर्वत, १०८ शिवलिङ्ग, १०८ गोमुखी धारा, र १००८ शालिग्राम स्थापना गरी धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने वातावरण सिर्जना गरिएको छ।
धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले वैशाख १७ गते अक्षय तृतीयाको पावन अवसरमा साप्ताहिक धार्मिक अनुष्ठान सुरु गरिएको छ। यस कार्यक्रममा प्राण प्रतिष्ठा, हवन, रुद्रीपाठ, शिवमहापुराण वाचन, भजन-कीर्तन र आरती गरिनेछ। नेपाल तथा भारतका प्रख्यात आध्यात्मिक गुरुहरूको उपस्थिति रहने कार्यक्रमको समापन पूर्णाहुति सहित गरिनेछ।
सर्वोदय आश्रमको विकासमा स्थानीय सरकारको सहयोग पनि बढ्न थालेको छ। राईनास नगरपालिकाले जलवायु अनुकुल परियोजना अन्तर्गत ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। सो बजेटबाट मस्र्याङ्दी नदी किनारमा पर्खाल, सिँढी, ढुंगा छाप्ने कार्य र पोखरी निर्माण भइरहेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा आश्रमसम्म पुग्ने सडक ढलान गरिएको छ।
आश्रममा आवासीय सुविधा सहितको १३ वटा भवनमा १८ वटा कोठा छन् । जसमाअपांगमैत्री शौचालय र स्नानगृह, भान्सा, पुस्तकालय, सेमिनार हल र पञ्चकर्म थेरापी कक्ष छन्। करेसाबारी र गौशालाबाट उत्पादन हुने दूध तथा तरकारीले दैनिक आवश्यकता पूर्ति हुने गरेको छ। मुठीदान अभियान र विभिन्न अवसरमा प्राप्त सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको छ भने दीगो भविष्यका लागि अक्षयकोष समेत स्थापना गरिएको छ।
सर्वोदय आश्रमले अब दिवा सेवा केन्द्र पनि सुरु गर्ने तयारी गरेको छ। यस योजनाअन्तर्गत दिनभर आश्रममा बस्न चाहने ज्येष्ठ नागरिकलाई सकारात्मक चिन्तन, योग, ध्यान र मनोवैज्ञानिक सहयोग प्रदान गरिनेछ।
धार्मिक पर्यटक र सेवामुखी अभियानमा रुचि राख्नेहरूका लागि सर्वोदय आश्रम एक प्रेरणादायक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

