नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाललाई हिन्दु धर्मावलम्बीहरुको तपोभूमि भनेर चिनाउने जिम्मेवारी नेपाल सरकारकै हो भन्नेमा जोड दिएका छन् ।
जनकपुरमा मंगलवार आयोजित ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले धार्मिक पर्यटक आकर्षणका दृष्टिले नेपाल अत्यन्त सम्भावनायुक्त देश भए पनि राज्य स्तरमा पर्याप्त पहल नहुनु खेदजनक भएको बताए । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समय-समयमा पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जानकीधाममा आएर धार्मिक महत्व दर्शाउँदै आउनुहुन्छ। तर, हाम्रो प्रधानमन्त्रीहरुले यस्ता धार्मिक स्थलप्रति चासो नदेखाउनु दुःखद् हो,’ उनले भने ।
गुरुङले धार्मिक स्थलहरुको प्रचारप्रसारमा कमी हुँदा नेपालमा आउने धार्मिक पर्यटकहरुको संख्या अपेक्षाकृत कम भएको उल्लेख गर्दै सरकार आफैं ताप्न नचाहँदा भारतबाट तात्ने प्रयासको खास प्रभाव नपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले पछिल्लो समय सरकारको नीति अनुसार भारतीय सेनामा नेपाली युवाको भर्ती रोकिएपछि रोजगारीको खोजीमा नेपालीहरु युक्रेन र रुसको युद्धसम्म पुगेको उदाहरण पेश गर्दै भने, ‘जिन्दगी गुजार्न नेपाली कहाँसम्म जान्छन् भन्ने युक्रेन-रुस युद्धले देखाइदिएको छ ।’
धार्मिक आस्थाका विषयमा पनि नेपाली समाजमा अनावश्यक विवाद हुने गरेको भन्दै उनले पशुपतिनाथमा चढाइएको जलहरिको विषयलाई लिएर आलोचना गर्नुको सट्टा आस्था बलियो बनाउनुपर्ने धारणा राखे ।
गुरुङले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचार-प्रसारमा नेतृत्वले अग्रसरता लिनुपर्नेमा जोड दिँदै भने, ‘नेपाल हिन्दु धर्मका लागि तपोभूमि हो भन्ने कुरा बाह्य शक्तिले भन्दा पहिले हामी आफैंले आत्मसात गर्न आवश्यक छ ।’

