शिक्षक आन्दोलनप्रति कांग्रेस शुभेच्छुक संस्थाहरूको ऐक्यबद्धता, शिक्षा ऐन तत्काल जारी गर्न माग

देशभर जारी शिक्षक आन्दोलनले चरम अवस्था लिँदै गएको सन्दर्भमा नेपाली कांग्रेसमा आवद्ध शुभेच्छुक संस्था समन्वय विभागले आन्दोलनमा रहेका शिक्षकहरूको माग जायज रहेको ठहर गर्दै समर्थन जनाएको छ।

विभागले बिहिवार र शुक्रवार शिक्षक महासंघ, शिक्षक संघ र शुभेच्छुक संस्थाहरूबीच अन्तरक्रिया तथा विचार–विमर्श कार्यक्रम आयोजना गरी आन्दोलनका विषयमा छलफल गरेको जनाएको छ।

छलफलबाट प्राप्त निष्कर्ष अनुसार, आन्दोलन शिक्षकहरूको पेशागत हक, शिक्षा प्रणालीको गुणस्तर र संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित रहेको विभागको ठहर छ। सो अनुसार विभागले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेस नेतृत्वलाई यस विषयमा निर्णायक भूमिका खेल्न आग्रह गरेको छ।

शुभेच्छुक संस्थाहरूले सरकारलाई संविधानको मर्मअनुसार तीन वर्षभित्र शिक्षा सम्बन्धी कानुन निर्माण गर्नुपर्ने प्रावधानको पालना गर्न र विगतमा भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिन नेपाली कांग्रेस नेतृत्वसँग माग गरेका छन्।

साथै, माद्यमिक शिक्षा परीक्षा (SEE) को उत्तरपुस्तिका जाँच तथा कक्षा १२ को परीक्षा सञ्चालनजस्ता शैक्षिक गतिविधिमा असर नपर्ने गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवाद थाल्न सरकारलाई सुझाव दिइएको छ।

शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख अब्दुर सत्तार, सदस्य सचिव निर्मला क्षेत्रीसहित दर्जनौं संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। उनीहरूले देउवा नेतृत्वमा शिक्षक आन्दोलनको सार्थक समाधान खोज्न र नयाँ शिक्षा ऐन जारी गर्न अग्रसर हुन आग्रह गरेका छन्।

शिक्षक आन्दोलनले अहिले शिक्षा क्षेत्रलाई मात्र होइन, समग्र राष्ट्र निर्माणमा असर पार्ने जोखिम रहेको भन्दै शुभेच्छुक संस्थाहरूले समस्याको समाधानका लागि नेपाली कांग्रेसले निर्णायक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार