‘महाभोज’को जेठ १५ वर्ल्ड वाईड रिलिज हुने

फिल्म ‘महाभोज’को रिलिज मिति तय भएको छ। केहि दिन अघि मात्र छायांकन सकिएको फिल्म अब भने गणतन्त्र दिवसको अवसर पारेर आउँदो जेठ १५ गते बिहिबारबाट प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर रिलिज गर्दै उक्त रिलिज डेट लक्ड गरेका हुन्। फिल्म सोहि मितिमा वर्ल्ड वाईड रिलिज हुनेछ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ ।पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् । उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ । पोस्टरलाई रोयल भीमसेनले डिजाइन गरेका हुन्।

हिमाल कडरियाको लगानी रहेको फिल्मलाई दिनेश राउतले निदेशन गरेका हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । फिल्मका छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावत रहेका छन्।

सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’मा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार