नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन्।
उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताए।
पार्टीले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्योरु भन्ने विषयमा पार्टी सचिवालय गम्भीर समीक्षामा लागेको बताए।
उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उहाँले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताए।
उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रुपमा अगामी दिनहरुको लागि समिक्षा र विश्लेषण गर्ने रुपले महत्वपूर्ण छ। काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो। अहिले १९ ठाउँमा विजयी भयो। गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ। ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो। त्यसका बाबजुद पनि नेपाली काँग्रेसले तत्कालिन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समिकरण र अहिलेको परिस्थिति, मनस्थिति र समिकरणलाई हेर्ने हो भने गुणात्मक रुपले यो महत्वपूर्ण छ।ु
महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रश्ताव पारित गरेको भए पनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताए।

