भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
नयाँदिल्लीमा रहेको संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ुब्युरो अफ इन्डियन स्ट्यान्डर्डु को सहजीकरणका लागि आग्रह गर्नुभएको छ ।
नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि भेटवार्तामा छलफल भएको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो । यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ ।
भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गर्नुभएको छ ।

