निष्कासन रोकिँदा आईपीओ पाइपलाइनमा कम्पनी संख्या ७७ पुग्यो

नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ ।

यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।

रमेशकुमार हमालको पदावधि सकिएर बोर्ड अध्यक्षबाट बाहिरिएसँगै आईपीओ निष्कासनको स्वीकृति दिइएको छैन । पहिले नै आवेदन दिएर पर्खाइमा रहेका कम्पनी र पछिबाट अरु कम्पनी थपिएसँगै संख्या बढेको बोर्डका एक अधिकारीले जानकारी दिए ।

पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डले जनाएको छ ।

कुल ४४ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि स्वीकृति माग गरिएको छ । सो मूल्यको कुल ३१ करोड ७८ लाख ९३ हजार कित्ता सेयर निष्कासन हुने छ ।

यीमध्ये अधिकांश कम्पनीले अंकित मूल्य १ सयमै आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।

अकामा होटलले प्रतिकित्ता ५०, जगदम्बा स्टिलले ३००, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले ५० रुपैयाँ, कैलाश हेलिकप्टरले ३२७ रुपैयाँ, शिवम् होल्डिङ्सले २१० रुपैयाँ तथा छायादेशी कम्प्लेक्सले ४०० रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार