काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ ।
दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो ।
रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन् । पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन् । उनी २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन् । चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन् । उनी सूचीको ७४ औं नम्बरमा छन् । दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन् । क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन् । त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन् ।
फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन् ।

