प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार काठमाडौँमा गोरखा भूकम्पको १० औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनः निर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए । उनले विपद्बाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरू बनाउनुपर्ने आवश्यकता रहेको बताए । विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभई क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए ।
उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे । भूकम्प गएर भत्किसकेपछि घर पुनः निर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने बताए । यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनः निर्माण भ्याउनसक्ने अवस्था होइन । यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरू बनाउनुपर्ने आवश्यकता छ । भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर..। हाम्रा पहाडतिर प्रायः घरहरू कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता डुङ्गाहरूमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ । अलिकति हल्लियो भने त्यो भत्किहाल्छ । धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरू बाँकी नै छन् । ती घरहरूलाई आफैँले हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई सुरक्षित कसरी बनाउने ? भन्नेकुरामा ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्बन गर्न जरुरी रहेको बताए । उनले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरूले गर्नुभएको सहयोग असाधारण रहेको बताए ।

