प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ ।
बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले यस्तो आरोप लगाएको हो । नेकपा ( माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्वहरू सलबलाइरहेको बताए ।
“राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको छ । सरकार पूर्ण रुपमा रूपमा फेल भइसकेको छ” उनले भने ।
उनले सरकारप्रति नागरिकहरूको आक्रान्तले सीमा नाघिसकेको आरोप लगाए । शिक्षकहरू, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित आन्दोलनमा उत्रिएको भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको जिकिर गरे ।
उनले समस्याहरूको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको आरोप समेत लगाए । सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै सरकार जनताका समस्या समाधानमा गैर जिम्मेवार बनेको आरोप लगाए ।
“जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामीहरू सलबलाइरहेका छन् । यो परिस्थितिमा सरकारप्रति आक्रान्त भइसकेका छन् । सीमा नाघिसकेको छ,” उनले भने, “सबै सडकमा छन् । शिक्षकहरू त छँदै छन्, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित छन् । स्थानीय तहका कर्मचारीहरूले धेरै पहिलेदेखि आन्दोलन गरिरहेका छन् ।”
नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्ने काम गरिरहेको आपत्ति जनाए ।
साथै, उनले हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको बताए । उनले यो अभियानमा एक करोडको हाराहारीमा जनतासँग संवाद भएको दाबी गरे ।
उनले भने– “हाम्रो पार्टीले गत फागुनको १२ गतेदेखि देशको सबैभन्दा होचो भाग झापाको कचनकवलबाट शुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको छ । यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । हालसम्मको अभियानमा एक करोडको हाराहारी जनतासँग संवाद भएको छ । यस खालको अभियान इतिहासमा पहिलो भएको अभियानलाई नजिकबाट हेरिरहेकाहरूको निष्कर्ष छ । अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तर संवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन् ।”
नेकपा (माओवादी केन्द्र) ले भारतको जम्मु–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति भत्र्सना गरेको छ ।

