कैलाली । कैलालीका धनगढी र भजनीबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार राति धनगढी उपमहानगरपालिका–५ बाल्मिकी स्कुल नजिकबाट १२९ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भई हाल धनगढी–७ मा डेरा गरी बस्ने २६ वर्षीय गौरव चन्द, भीमदत्त नगरपालिका–६ निवासी ३२ वर्षीय प्रकाश आउजी र बेदकोट नगरपालिका–५ घर भई हाल धनगढी–१ मा डेरा गरी बस्ने २२ वर्षीया खुस्बु धानुक रहेका छन्।
त्यसैगरी, प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–८ काँडापुलबाट ८७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित टिकापुर नगरपालिका–१ शक्तिनगर शिविर निवासी २७ वर्षीय भिखु चौधरीलाई पक्राउ गरेको छ। उनी साइकलमा यात्रा गरिरहेका बेला शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

