भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौंमा मनाइयो

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । सोमवार बिहान काठमाडौंमा उनको स्मरणमा एक कार्यक्रम गरी २१३ औँ जन्मजयन्ती मनाइएको हो ।

नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याउनुभएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पु¥याएका थिए । नेपाली भाषाको उत्थान र साहित्यको विकासमा उनले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै हरेक वर्ष असार २९ गतेलाई भानु जयन्तीका रूपमा मनाउने गरिन्छ ।

यस अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित उहाँको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकी संस्कृतिविद् डा. आना एम सिस्टरले आफू नेपाल २० वर्षअघि विद्यार्थी भएर आएको बताइन् ।

उनले भनिन्, ‘म २० वर्ष अगाडी विद्यार्थी भएर आएँ नेपालमा पहिलो चोटी । त्यो भन्दा अगाडी मलाई पठाएको क्यासेटबाट अलिकति मात्रै नेपाली भाषा सिकेको थिएँ । सिक्दै गएँ, तर पनि कहिले पनि सोचेको थिइनँ कि यस्ता सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने थिएँ । यो मेरो लागि धेरै ठूलो कुरा भयो । अनि अहिले भानु प्रतिष्ठानको अध्यक्ष दिव्य अर्यालको अनुरोध अनुसार म कोशिस गर्छु,अलिकति भानुभक्त रामायणको दुई लाइन गाउनलाई ।’

उक्त अवसरमा उनले भानुभक्तले नेपालीमा उल्था गर्नुभएको रामायणको एउटा श्लोक समेत वाचन गरेर सुनाइन् । साथै एउटा गीत समेत उनले गाएर सुनाइन् ।

विदेशीको नेपाली भाषा र संस्कृतिप्रतिको मोहबारे आनाको यो सुस्पष्ट भाषा र लयवद्ध वाचनले पनि स्पष्ट पार्छ ।

भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन् । नेपालका साथै दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका स्थानहरूमा पनि भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । उहाँको योगदानले नै नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भुमिका खेलेको साहित्यकारहरूको ठम्याइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार