काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलवार राष्ट्रिय बैठकमा सांसदहरुले आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् । मन्त्री कुमारीले अर्थ मन्त्रालयले उद्योगको मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको पनि स्पष्ट पारिन् । उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको पनि बताइन् ।
मन्त्री कुमारीले भनिन्,‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखि पठाएको छु । जुन निकासा भईसकेको छ । त्यो उद्योगमा गईसकेको छ । र त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ । र, केही महिनामा नै त्यो सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु । व्यापार घाटा न्युनिकरण गर्न सरकारले योजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गरिराखेको तथा नेपाल अमेरिका बीचको व्यापार सम्झौता अन्तर्गत डयुटी फ्रि कोटा फ्रि सविधाको अवधि समाप्त भईसकेकोमा थप गर्नका लागि अमेरिकी सरकारलाई अनुरोध गरिएको व्यहोरा निवेदन गर्दछु ।’
मन्त्री कुमारीले सरकारले व्यापार घाटा न्युनिकरण गर्दै लैजानका लागि प्राथमिकताका साथ काम गरिरहेको पनि बताइन् ।

