काठमाडौंमा कागमार्फत बर्डफ्लु फैलिँदै, उपत्यकामा उच्च सतर्कता

काठमाडौं । काठमाडौं उपत्यकामा रैथाने कागमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि रोग फैलिने जोखिम बढेको छ। खुला रूपमा उड्ने कागलाई नियन्त्रण गर्न कठिन भएकाले संक्रमण रोकथाममा चुनौती थपिएको पशु सेवा विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिने बर्ड फ्लु नियन्त्रण गर्न तुलनात्मक रूपमा सहज भए पनि कागजस्ता जंगली चराले संक्रमण एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने सम्भावना धेरै हुन्छ। संक्रमित कागमा भाइरस करिब २१ दिनसम्म सक्रिय रहने भएकाले उपत्यकाका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको अनुमान गरिएको छ।

सदर चिडियाखाना लगायतका क्षेत्रमा पनि कागकै माध्यमबाट संक्रमण सरेको पाइएको विभागको भनाइ छ। साथै, मरेका काग सजिलै फेला नपर्ने र तिनका अवशेष तथा दिसाबाट समेत भाइरस फैलिन सक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरिएको छ।

हाल काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका ११ जिल्लाका एक सयभन्दा बढी स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। यो रोग पन्छीमा लाग्ने अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको भाइरल संक्रमण हो।

विभागका अनुसार काठमाडौं उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा क्षेत्रमा अझै नियन्त्रणको प्रयास जारी रहे पनि अन्य अधिकांश प्रभावित क्षेत्रमा अवस्था नियन्त्रणउन्मुख रहेको छ।

संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष रोग नियन्त्रण कक्ष गठन गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर प्रभावित क्षेत्रमा निगरानी, परीक्षण तथा नियन्त्रण अभियानलाई तीव्र बनाइएको विभागले जनाएको छ।

विभागले सर्वसाधारणलाई मरेका वा बिरामी देखिएका काग तथा अन्य पन्छीलाई नछुन, तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार