बारा कांग्रेस सभापति राजेश यादव निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको तथा पार्टी अनुशासन विपरीत काम गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाएको हो।

बिहीबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अन्तिम निर्णय नभएसम्म यादवलाई जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। बैठक समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको थियो।

यादवविरुद्ध प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा समितिले पहिलो चरणमा वैशाख ३० गते पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको थियो।

तर निर्धारित अवधिमा कुनै जवाफ प्राप्त नभएपछि समितिले जेठ १२ गते पुनः तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण मागेको थियो। समितिका अनुसार दुवै पटकको पत्राचारप्रति यादवले कुनै प्रतिक्रिया नजनाएपछि निलम्बनको निर्णय गरिएको हो।

पार्टीले अनुशासन सम्बन्धी छानबिन प्रक्रिया जारी रहेको र अन्तिम निर्णय नआएसम्म यो व्यवस्था लागू रहने जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार