निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले चुनावी प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै ओलीले निर्वाचनलाई ‘तमासा’ र ‘नाटक’को संज्ञा दिँदै नतिजा पहिले नै तय गरिएको दाबी गरेका छन्।‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो। यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरू पार्टीहरूले साँच्चिकै चुनाव हुन्छ ठाने।’ओलीको यो अभिव्यक्तिले निर्वाचनको निष्पक्षतामाथि प्रत्यक्ष प्रश्न उठाएको छ।
उनले मतदानमा प्रयोग भएको मसीसमेत शंकास्पद रहेको दाबी गर्दै यसबारे छानबिन हुनुपर्ने बताए।एमाले नेतृत्वले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार नगरेको संकेत ओलीको भनाइबाट स्पष्ट देखिन्छ। विशेषगरी २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो शक्तिमा खुम्चिएको थियो। यही परिणामपछि ओलीले पहिलोपटक सार्वजनिक रूपमा निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएका हुन्।राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी हारपछि निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासका लागि संवेदनशील विषय हो।
यदि ओलीले उठाएका आरोप प्रमाणित गर्न सकेनन् भने यसले निर्वाचन प्रणालीप्रति जनविश्वास कमजोर बनाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।एकातिर एमालेले परिणामलाई ‘पूर्वनिर्धारित’ भन्दै आएको छ भने अर्कोतिर निर्वाचन प्रक्रियाको वैधतामाथि प्रश्न उठाउन थालेको छ। अब ओलीले उठाएका आरोप केवल राजनीतिक असन्तुष्टि हुन् वा त्यसको पछाडि ठोस आधार छ भन्ने विषयले आगामी दिनमा थप बहस जन्माउने देखिएको छ।

