बैतडी । जिल्ला अस्पताल बैतडी को पुरानो गोदाममा आइतबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब साढे ३ बजेतिर सुरु भएको आगो सुरक्षाकर्मीहरूको सक्रियतामा करिब एक घण्टाभित्र नियन्त्रणमा ल्याइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना को संयुक्त प्रयासमा अपराह्न ४ बजेसम्म आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार गोदाममा पुराना तथा प्रयोगविहीन स्वास्थ्य सामग्रीका साथै लिलामी प्रक्रियामा रहेका सामान राखिएका थिए। प्रारम्भिक अनुसन्धानमा नजिकै फोहोर जलाउँदा निस्किएको आगोबाट घटना भएको आशंका गरिएको छ।
आगलागी कसरी फैलियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

