काठमाडौं । नेपाली कांग्रेसले ३० वर्षमुनि उमेर भएकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरू गरेको छ।
सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्ष उमेर मुनिकालाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।
सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेलले युवाहरूलाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरेको बताए।
कांग्रेसले प्राय साधारण सदस्यता लिएको वर्षदिन पुगेपछि क्रियाशील सदस्यता दिने गरेको छ। तर अब युवाहरूलाई केन्द्रित गरेर सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।
कांग्रेसले वैशाखदेखि नै जरा अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरणका काम गरिरहेको छ।
महामन्त्री पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले पनि प्रदेशहरूमा पुगेर जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान पनि साथसाथै अघि बढाइरहेको छ।
क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल गर्न अद्यावधिक गर्न लागिएको महामन्त्री पौडेलले बताए।
कोशीको भेडेटारमा सदस्यता व्यवस्थापन समितिका केन्द्रीय संयोजक पौडेलकै उपस्थितिमा प्रशिक्षण र अन्तर्क्रिया शनिबार भएको थियो।

