धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार, कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

