निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दैछ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरूमाथि बुधबार परेको दाबी विरोधमा जाँचबुझ र निर्णय गरी बिहीबार नामावली प्रकाशन गर्न लागेको हो।
आयोगले साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।आयोगका अनुसार पाँच जनाविरूद्ध उजुरी परेको थियो।भक्तपुर २ मा २ जना उम्मेदवारविरूद्ध, सुनसरी २ मा १ जनाविरूद्ध, रौतहट १ मा १ जनाविरूद्ध र कैलाली १ मा १ जनाविरूद्ध उजुरी परेको थियो। भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधव नेपाल, कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको थियो।सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको थियो।
उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएकोनिर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन्। यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ।

