काठमाडौं । नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले काँग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको काँग्रेसलाई अधिकार नै नरहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका काँग्रेस नेताहरुसँगको आयोगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियौं भनेर हस्तक्षरसहित फर्र्किएको बताएका छन् ।
उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए । १६७ जनामध्ये १ सय २३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनमा जुन प्रतिनिधिहरुले सही गरेका थिए, उनीहरुले फिर्ता भएर आउनुभएको प्रमाणसहितको कागजात बुझाएका छौँ । संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनुहुनेछ भन्ने विश्वास छ । भ्रमपूर्ण रुपमा जुन प्रचारप्रसारहरु बाहिर आएको छः निर्वाचन आयोगले सत्यतथ्यमा आधारित भएर र प्रमाण कागजहरुको मूल्यांकन गरेर जुन निर्णय गर्नुपर्नेछ, त्यसमा हाम्रो प्रतिवाद गर्नुपर्ने अवस्था बाँकी नै छ । अद्यावधिकको नाममा जुन दर्ता ५१ को प्रयोग गरेर यहाँ आएको छ, सिंगो नेपाली काँग्रेसको ट्रुथ अफ मेजोरेटी अहिलेसम्म यसमा रही रहेको कुरा जगजाहेर छ । १६७ जनामध्ये झन्डै १२३ जनाको सही अहिले पनि छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भएमा त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट छ । हामी ढुक्क छौँ । मिडियाले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन, संविधान, ऐन कानूनले जे भन्छ, त्यो कुरा महत्वपूर्ण हो ।’
उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताएका छन् । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।

