काठमाडौं । भदौ २३ र २४ गते राजधानी केन्द्रित जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिन प्रक्रियामा औपचारिक रूपमा समेट्ने तयारी गरेको छ । आयोगले ओलीलाई बयानका लागि उपस्थित हुन आग्रह गर्दै पत्र पठाउने तयारी गरेको हो ।
बिहीबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनका बेला भएका निर्णय, निर्देशन र सुरक्षा व्यवस्थासम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण रहेकाले छानबिनको दायरामा ल्याउन लागिएको स्पष्ट पारे । आयोगले घटनासँग जोडिएका सबै जिम्मेवार पक्षलाई निष्पक्ष रूपमा अनुसन्धान गर्ने नीति अनुसार ओलीलाई पनि बयानका लागि बोलाउन लागिएको उनले बताए ।
जेनजी आन्दोलनका क्रममा भएका प्रदर्शन, सुरक्षाकर्मीको परिचालन, बल प्रयोगको निर्णय तथा त्यसबाट उत्पन्न परिस्थितिबारे गम्भीर प्रश्न उठेपछि सरकारले छानबिन आयोग गठन गरेको थियो ।

