ओलीभन्दा अघि गुरुङ र पौडेल, एमाले महाधिवेशनमा मतको रोचक समीकरण

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणनाले नेतृत्व चयनमा एउटा चाखलाग्दो चित्र देखाएको छ । अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए पनि पदाधिकारीतर्फ सबैभन्दा बढी मत भने उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले ल्याएका छन् ।

बिहीबार सार्वजनिक अन्तिम नतिजा अनुसार गुरुङले १ हजार ७३७ मत प्राप्त गर्दै पदाधिकारीमध्ये शीर्ष स्थानमा रहे । यो संख्या अध्यक्ष ओलीले पाएको १ हजार ६६३ मतभन्दा समेत बढी हो, जसले महाधिवेशनभित्रको समर्थन संरचनालाई फरक ढंगले उजागर गरेको छ ।

गुरुङसँगै उपाध्यक्षकै अर्का निर्वाचित नेता विष्णु पौडेलले पनि अध्यक्ष ओलीभन्दा बढी मत पाएका छन् । पौडेलको पक्षमा १ हजार ६७५ प्रतिनिधिले मत दिएका थिए ।

मत परिणामले अध्यक्ष पदको जित एकातिर भए पनि उपाध्यक्ष पदमा देखिएको उच्च मतले पार्टीभित्रको आन्तरिक लोकप्रियता र नेताहरूबीचको राजनीतिक तौल फरक–फरक ढंगले प्रकट भएको संकेत दिएको छ । एमालेको नयाँ नेतृत्व संरचनामा यी मतसंख्याले आगामी दिनमा शक्ति सन्तुलन र भूमिकाको बहसलाई अझ रोचक बनाउने देखिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार