काठमाडौं । अन्तरिम सरकार विस्तार हुने पक्का भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज नयाँ मन्त्रीहरुलाई समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । शपथग्रहणका लागि दिउँसो २ बजेको समय तोकिएको छ ।
कार्कीले आइतबार सार्वजनिक गरेका नामहरुमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र र पत्रकार जगदिश खरेलको सिफारिस गरिएको छ । तर स्रोतका अनुसार अन्तिम घडीमा केही नाममा फेरबदल हुने सम्भावना पनि छ ।
भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीले हालसम्म मात्र तीन मन्त्रीसहित सरकार सञ्चालन गरिरहेकी छन् । मन्त्रीसंख्या बढेसँगै मन्त्रिपरिषद् सक्रिय रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

