साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गरिने

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण शुरु गरिने बताएका छन् ।

शनिवार वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा कुराकानी गर्दै मन्त्री महर्जनले हालै शुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका हुन् । गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा शुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ । उनले नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिए।

मन्त्री महर्जनल भने, ‘साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण शुरु गर्छौं यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ । जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र विचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

वागमती प्रदेशबाट शुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने मन्त्री महर्जनले जानकारी दिए । उनकाअनुसार सातैवटा प्रदेशले आगामी वैशाखदेखि आ—आफ्नै प्रदेशबाट लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । जसको शुरुवात वागमती प्रदेशले गर्न लागेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार