काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकामा जीवित व्यक्तिलाई ‘मृत’ देखाएर झूटा कागजात तयार पारेको खुलासा भएको छ ।
‘ओखर पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत विनियोजित सरकारी रकम हिनामिना गर्न यस्तो चलखेल भएको देखिएको हो ।
योजनाबद्ध ठगीमा कृषि शाखा प्रमुख दिपकराज विष्ट, भेटेरिनरी प्राविधिक जनकसिंह धामी र शैल्यशिखर नगरपालिका— ६ अन्तर्गत मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनकसिंह धामीको संलग्नता देखिएको छ ।
कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी जिउँदो हुँदाहुँदै उनीहरूको नाममा मृत्यु भइसकेको भन्दै झूटा प्रमाणपत्र बनाइएर बैंकमा पेस गरिएको थियो । कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखालाई पत्र पठाउँदै, अबदेखि जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र नयाँ सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गर्न अनुरोध गरेका थिए । यसमार्फत समूहको लामो समयदेखि निस्कृय बैंक खाता सक्रिय बनाएर सरकारी रकम निकाल्ने तयारी गरिएको थियो ।
यता कृषि शाखा प्रमुख दिपकराज विष्टले अध्यक्षले ल्याएको माइन्युट र निवेदनका भरमा पत्राचार गरिएको भन्दै लापरबाही स्वीकारेका छन् ।
विगतमा पनि शैल्यशिखर नगरपालिकामा भ्रष्टाचारका अन्य काण्डहरुपनि बाहिर आएका थिए ।


