काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भएपनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताए। उनले छोटो अवधिमा राजस्व संकलनका लागि समेत आयात खुला राख्नु सरकारको बाध्यता भएको बताए ।
उनले भने, ‘कमजोर अर्थतन्त्र हुँदाहुँदै पनि उपभोग्य र विलासी वस्तुको आयातमा वृद्धि हुनुका कारणहरु नेपालमा जनसंख्या वृद्धि, शहरीकरण, आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको आवश्यकता पनि बढ्दै जान्छ । घरेलु उत्पादनले माग धान्न नसक्दा आयात निर्भरता बढेको छ । साथै उपभोग्य र विलासी वस्तुहरुको आयातले भन्सार राजश्वमा उलेख्य योगदान पुर्याएको छ । जसले सरकारलाई छोटो समयमा राजश्व संकलनका लागि आायत खुला राख्न प्रेरित राख्दछ ।’
उनले उपभोग्य र विलासी वस्तुको आयात बढ्दा सोधनान्तर घाटा बढिरहेको बताए । नेपालमा निर्यातभन्दा आयात धेरै भएको कारण व्यापार घाटा र शोधनान्तर घाटा दुवै बढिरहेको उनको भनाई छ ।

