कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ ५ः३० बजेतिर भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार जैशीको शरीरमा कुनै स्पष्ट चोटपटक नभेटिए पनि घटनालाई शङ्कास्पद मान्दै अनुसन्धान सुरु गरिएको छ । मामा र भान्जाबिच आर्थिक लेनदेनको विषय जोडिएको हुनाले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक रूपमा मृत्युका कारण नखुलेको र थप परीक्षण तथा अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले बताएको छ । प्रहरीले स्थानीयसँग बयान लिने कार्य अघि बढाएको छ भने पोष्टमार्टमका लागि तयारी गरिरहेको जनाएको छ ।

