काठमाडौं । लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं प्रहरी परिसरले एक महिलालाई नियन्त्रणमा लिएको छ।
बुधबार काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट २० वर्षीया मनीषा ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१५ अजिमा हल नजिक बस्दै आएकी ठाकुरले वर्षौंदेखि लागू औषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
ठाकुरको कोठामा तलासी गर्दा ट्रामाडोल, केटारोल्याक, डाइजेपाम र नर्फिन गरी विभिन्न खालका लागू औषधको ठूलो परिमाण फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको औषधिको अनुमानित बजार मूल्य करिब २ लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ।
प्रहरीले नियन्त्रणमा लिएकी मनीषा ठाकुरमाथि लागू औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रवक्ता अनिलराज बोहोराका अनुसार अनुसन्धान पूरा भएपछि ठाकुरलाई अदालतमा पेश गरिनेछ।


