कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह

काठमाडौं । नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले कोरोनाको विपद् र क्षति भोगेको थोरै समयमा पुनः सोही आतंक दोहोरिन लागेकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह गरिन् । उनले भारतबाट नेपाल प्रवेश गर्ने पाँच जनामा कोरोना पुष्टि भएको बताउँदै नेपाल प्रवेश गर्ने नाकाहरुमा चाँडोभन्दा चाँडो चेकजाँचको व्यवस्था गर्न सरकारसँग माग गरिन् । सांसद दाहालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण गर्नेगरी अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको रुपमा स्तरोन्नति गर्ने, पूर्वाधार विकासलगायतको व्यवस्थामा समय लाग्ने भएकाले कोरोना न्युनिकरणतर्फ योजना बनाएर लाग्न सरकारसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘अहिले कोरोनाको विगविगी बढेको, केही प्रभावित भएको र अस्पतालमा भर्ना भएको आकस्मिक र तत्कालिन स्वास्थ्य समस्या खास ठाउँमा मात्र छ कि देशभरि नै फैलनसक्ने सम्भावना छ ? स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरुले के आँकलन गरिरहेका छन् ? तथ्यले के देखाइरहेको छ यो सुरुवाती अवस्थामै बुझ्न र समस्या समाधानमा लाग्नुपर्छ । स्वास्थ्य मन्त्रालय र माननीय स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि कोरोनाको विपद् क्षति भोगेको धेरै भएको छैन । फेरि त्यही आतंक दोहोरिन लागेको त हैन ? गम्भीर हुन सरकारलाई आग्रह गर्दछु । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारको नमूना परीक्षण गर्नेगरि अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको रुपमा स्तोरन्नोति गर्ने, पूर्वाधारको विकास गर्नेगरि जनशक्ति प्रविधिको व्यवस्था गर्ने विषयमा समय लाग्नसक्छ । योजना अगाडि सारिएको छ तर कोरोना चाँडै नै आइरहेको हुनाले यसतर्फ योजना बनाएर लाग्नका निमित्त आग्रह गर्न चाहन्छु । अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने पाँच जना नेपालीलाई कोरोना भएको पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा चेकजाँचको व्यवस्था चाँडोभन्दा चाँडो व्यवस्था गर्न माग गर्दछु ।’

उनले स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरुले आँकलन गरिरहेको कोरोना समस्याको शुरुवाती अवस्थामै बुझेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिएकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार