दश महिनामा सरकार फेरिँदैन, तीन-चार वटा अरु व्यहोर्छौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।

बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताए । उनले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन—चार वटा अरु पनि कट्ने बताए ।

गृहमन्त्री लेखकले भने ‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला १०—१० महिनामा सरकार फेरिन्थ्यो , त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दसैँ महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौं । त्यसो भएको हुनाले १० महिना धेरै भएन ।’

गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको बताए । उनले कानुनको अपूर्णताका कारण कामहरु अवरुद्ध भएको बताए । ९ महिना यताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार