अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन वैशाख २० देखि २२ गतेसम्म काठमाडौंमा हुने पक्का भएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेले दिएका हुन् ।

संघको नेतृत्व गरिरहेको घले नेतृत्वको समितिले सर्वोच्च अदालतको आदेश र निर्देशनालयको कार्यान्वयनका आधारमा, परराष्ट्र मन्त्रालयको समन्वयमा, निर्धारित मितिमा महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले दिएको ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने आदेशअनुसार आफूहरूले जिम्मेवारीपूर्वक तयारी गरेका संयोजक घलेले बताए।

विश्वभरका विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको पनि उनले जानकारी दिए । ‘सर्वोच्च अदालतको आदेश पालन गर्नु सबै गैरआवासीय नेपालीको साझा दायित्व हो,’ उनले भने, ‘निर्धारित मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को उल्लंघन हुने कार्य भएकाले हामी त्यसो गर्न सक्दैनौं ।’

संयोजक घलेले वर्तमान एनआरएनएलाई पुनः ब्रान्डिङ गर्दै नयाँ सोच, शैली र संरचनासहितको आधुनिक एनआरएनए निर्माण गर्ने अभियानमा आफूहरू लागेको स्पष्ट पारेका छन् । उनले खुला छलफल, वार्ता र संवादमार्फत सबैलाई समेट्दै संस्थालाई एकजुट बनाउन प्रयासरत रहेको उल्लेख गर्दै, एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा समाचार