काठमाडौं । नेकपा एमालेको सचिव पदका लागि भइरहेको मतगणनाले पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट देखाउन थालेको छ। नौ जना सचिव चयन हुने निर्वाचनमा संस्थापन पक्षले निर्णायक अग्रता लिँदै गएको छ भने ईश्वर पोखरेल समूह दबाबमा परेको देखिन्छ।
पछिल्लो मतपरिणामअनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्मा समान ३११ मतसहित शीर्ष स्थानमा पुगेका छन्। प्रारम्भिक चरणमा अग्रता बनाएकी पद्मा अर्याल दोस्रो अपडेटमै पछि पर्दै ३०५ मतमा सीमित भएकी छन्। मतगणनाको गति हेर्दा बस्नेत र विश्वकर्माको अग्रता थप बलियो बन्दै गएको संकेत मिलेको छ।
त्यस्तै, चौथो स्थानमा रहेका शेरधन राईले पनि उल्लेखनीय समर्थन पाउँदै ३०० मत पुर्याएका छन्। उनीसहित हिक्मत कुमार कार्की, यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई हालसम्म शीर्ष ९ भित्र अटाइरहेका छन्।
यसैबीच, ईश्वर पोखरेल पक्षबाट सचिव पदका बलिया दाबेदार मानिएका गोकुल बास्कोटाको स्थिति अपेक्षाकृत कमजोर देखिएको छ।

