काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गएको मङ्सिरसम्मको दाबी बक्यौता भुक्तानी भएको जनाएको छ । साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ ।
बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई ७ महिना अर्थात् पुसयताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो । सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ ।
चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ । बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ ।
बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ ।


