पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरुमाथि कारबाही गर्न सांसद रोकायको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य घट्ने बित्तिकै देशका विभिन्न भागहरुमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गरिएकाले त्यस्ता पेट्रोल पम्पमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराएका छन् । सांसद रोकायले सार्वजनिक यातायात र हवाई उडानको समेत मूल्य समायोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । पेट्रोलियम पदार्थको मूल्य घटेकाले सरकारले सार्वजनिक यातायात र हवाई उडानको समेत भाडा घटाउनुपर्ने उनको भनाई थियो ।

सांसद रोकायले भने, ‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामा नै देशका धेरै स्थानमा पेट्रोल छैन । र डिजेल छैन भन्दै केही पेट्रोल पम्पहरुबाट विक्री वितरण बन्द भएको सूचना छ । म प्रश्न गर्न चाहन्छु मूल्य बढदा भार बोक्ने जनताले मूल्य घटदा राहत दिन नपाउने रु यसरी कृतिम अभाव सृजना गर्नेहरुमाथि सरकारले तत्काल छानविन गरी कानून बमोजिम कडा कारबाही गरोस । र पेट्रोलियम पदार्थको मूल्य घटिसकेको अवस्थामा सार्वजनिक यातायातको भाडा र हवाई उडानको भाडा अविलम्ब पुनरावलोकन गर्न समेत माग गर्दछु ।’

सांसद रोकायले जनताले पेट्रोलियम पदार्थको मूल्य बढदा भार खेप्नुपर्ने तर घटदा राहत नपाउने अन्यायपूर्ण अवस्थाको तत्काल सरकारले अन्त्य गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार