काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।
६८ औँ संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी हुन् । सांसद गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन् । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उनको तर्क छ । प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुङ्ग्याउन सकिने भन्दै उनले सदनको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने बताइन् । जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसदको खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ । प्रक्रियाका विषयमा कार्यव्यवस्था बैठक हुन्छ, अन्य विभिन्न बैठकहरू पनि हुन्छन् । हाम्रा अनौपचारिक बैठकहरू पनि हुन्छन् । ती बैठकहरूमा धेरै विषय सुल्झाउन सकिन्छ, दलहरूबीच छलफल गरेर टुङ्ग्याउन सकिन्छ । तर जब संसदको बैठकमा बस्छौँ, जनताका मुद्दामै छलफल गरौँ । किनभने जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ, र त्यही कोषबाट हामी पनि सञ्चालन भइरहेका हुन्छौँ । यो एउटा पाटो हो । अर्को कुरा, जनताले हामीलाई संसद्मा आफ्नो आवाज उठाउन पठाउनुभएको हो भन्ने विश्वास गर्नुभएको हुन्छ । त्यसैले हामीले पाएको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गरौँ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी समाधानयोग्य बनाउने र यस्ता विषयमा सरकारलाई जवाफदेहिताको कसीमा कसरी उभ्याउने भन्ने विषयमा व्यापक बहस गरौँ । यस्ता बहसहरू संसद्मा गर्नसक्यौँ भने संसद्को औचित्य र संसद्प्रति जनताले हेर्ने दृष्टिकोण दुवैमा सकारात्मक सुधार आउँछ भन्ने मलाई लाग्छ । यद्यपि हाम्रा अभ्यासका सन्दर्भमा–यो मेरो मात्र अनुभव हो कि यहाँहरू सबैको पनि अनुभव हो–आफ्नो मनमनै सोच्नुभएको पनि होला । अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ । हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ । यदि हामी संसदको मान राख्छौँ भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ । त्यसो गर्न सक्यौँ भने संसद मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ । त्यसकारण, सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ–यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो । यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस् । म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु । यो मेरो आफैँसँग गरेको प्रतिवद्धता हो ।’
उनले संसदप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र यसको औचित्य पुष्टि गर्न सांसदहरूले आफ्ना आचरणमा सुधार ल्याउनुपर्ने बताएकी छन् । सांसद गौतमले संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

