काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलियास्थित नमस्ते होटेलबाट सुन जस्तो देखिने पहेँलो धातु २१४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

