काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा जान कुनै अफ्ठ्यारो नरहेको प्रष्टिकरण दिएका छन् ।
मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिएका हुन् । यसअघि पनि प्रधानमन्त्रीले आवश्यक्ता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उनले विपक्षीसंग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताए।
उनले भने,‘प्रधानमन्त्रीलाई संसदमा जान कुनै अफ्ठ्यारो छैन, शुरुमा उहाँ संसदमा उपस्थित हुँदा उहाँलाई सोध्ने प्रश्न नै रहेनछन् । एकदमै कम प्रश्नहरु आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरु आउँछन् भन्ने सोच्नुभएको थियो त्यो हिसावको प्रश्न नै थिएन । फेरि आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले मैले संसदमा सम्बोधन गर्नुपर्छ भन्ने जस्तो लाग्छ भने गरिहाल्नु हुन्छ । यदी आवश्यक परेमा प्रधानमन्त्रीले आवश्यकताअनुसार संस्दमा संवोधन गर्नुहुन्छ ।’
विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरि संसद अवरुद्ध गर्दै आएका छन् । प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथी लागेको आरोपको पनि बचाउ गरेका छन् । अर्थमन्त्री वाग्लेमाथी स्वार्थ समूह अनुकुल रहेर करका दर हेरफेर गरेको आरोप लागेको छ । प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै पूर्ण समर्थन रहेको बताए । उनले करका नीति फेरबदलसम्बन्धी कुनै कुरा मन्त्रीपरिषद्मा नउठेको जानकारी दिए ।
उनले भने, ‘अर्थमन्त्रीज्युले एकदमै मेहनत गरेर बजेट ल्याउन भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिइ करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरुले स्वार्थ समूहको मिलेमत्तोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानविनको माग राखेका छन् ।

