काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनावद्ध रुपमा नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतिको पहिचान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य पनि स्पष्ट पारे । उनले मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउने तर्फ सरकार, नीति निर्माता, योजनाविद तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी पनि बताए । राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उनले भने,‘कृषि क्षेत्रको विकास गर्न राज्यले योजनावद्ध रुपमा नीति तथा कार्यक्रमहरु ल्याउनुपर्छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखि युवा उद्यम केन्द्रित कार्यक्रम संचालन गर्न प्रोत्साहन गर्नु पर्दछ । १६ औँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतिको पहिचान गर्नुपर्दछ । यसमा लगानीको सुनिश्चितता गर्नं, सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ । मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ । विदेशबाट फर्किएका युवाहरुलाई उनीहरुले सिपको प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ । कृषकका उपजहरुको बजारीकरण, समयमा नै बीउविजन, मलको आपूर्ति कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नविनतम औजार र उपकरणको पहिचान र व्यवस्थापन, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरु हुन् ।’
राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवाहरुलाई उनीहरुले सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्ने बताएका छन् ।

