काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको दावी गरेका छन् ।
चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो दावी गरेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गरेका छन् । उनले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासका अभिन्न अंग भएको उल्लेख गरे ।
राष्ट्रपति पुटिनले यस्ता संवादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई प्रवद्र्धन गर्न र यसमा रहेका असीमित सम्भावनाहरूको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका छन् ।

