काठमाडौं । जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो ।
उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तीनै जना एकै परिवारका सदस्य रहेका प्रहरीले जनाएको छ ।
सजन हात्तीबाङ स्कूलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए ।
शुक्रबार बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए । त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।

