कैलाली । नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा नियमित कामकाज रोकेर तालाबन्दी गरिएको छ । पार्टी केन्द्रले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ । तर, कैलालीको पार्टी कार्यालयमा भने ताला लागेको नेताहरूले बताएका छन् ।
शुक्रबार धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापतिसहित नेता तथा कार्यकर्ता जम्मा भएका थिए । उनीहरूले कार्यालय पुग्दा मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाएर नियमित कामकाज अवरुद्ध भएको पाइएको बताएका छन् ।
मूल गेटको ताला छिचोल्न आफूहरू पछाडिको सिढी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरे पनि भित्र सबै कोठामा पनि ताला लगाइएकाले सदस्यता अद्यावधिकलगायतका कार्य अगाडि बढाउन नसकिएको उनीहरूले बताएका छन् ।

