काठमाडौं । प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो । कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ ।
कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो ।

