कैलाली । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्कीविरुद्ध बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । कैलाली जिल्ला अदालतले उनीविरुद्ध वारेन्ट जारी गरे पनि चार महिनादेखि उनी प्रहरीको सम्पर्कबाहिर रहेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले गत चैत २ गते मुद्दा दायर गरेका थिए । मुद्दा नम्बर ०८२–सि १–०७६९ रहेको उक्त प्रकरणमा अदालतले चैत १७ गते नै पक्राउ पुर्जी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै मुद्दा अदालतमा बुझाइसकिएको जानकारी दिए ।
पार्कीविरुद्ध कैलालीमा मात्र नभई काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ।

