बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ।बुधबार बिहान २ बजेअघि रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । गएराति एक व्यक्ति घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना हुँदा सुमित्राको घरमा ८ जना सदस्य थिए।सुमित्रासँगै उनका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी र उनका दुई छोरा, छोरी रिनाकुमारी र नाति गरी ८ जना थिए।जगरूक,मनितादेवी र किरणदेवी घाइते भएका छन्। त्यसमा पनि जगरूक गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको परवानीपुरकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

