काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाको चार वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृकतको कार्यालय स्थापना गरिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । धनुषा क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय धनुषाधाममा मनोज बडाललाई निर्वाचन अधिकृत तोकेर कार्यालय संचालनमा ल्याइएको मुख्य निर्वाचन अधिकृत सुभाव बाबु पुरीले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको जिम्मेवारी दामोदर रेग्मीलाई दिँदै तिनकौरियामा कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ को जनकपुरधाममा निर्वाचन अधिकृत स्वयं पुरीको नेतृत्वमा कार्यालय स्थापना गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा पुरुषोत्तम खतिवडाको नेतृत्वमा निर्वाचन अधिकृतको कार्यालय स्थापना उनले जानकारी दिए ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदैछ । देशभरका निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय स्थापना गरेर जिम्मेवारी तोक्ने कार्य भइरहेको छ ।

