काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकबाट प्रहरीले दुई जना बालिकाको उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पुस १२ गते राति करिब १२ः ३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शंकास्पद अवस्थामा बालिकाहरूलाई लिएर जान लागेको सूचनाको आधारमा प्रहरीले ट्याक्सी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ट्याक्सीको पछाडि सिटमा रहेका दुई बालिकाको सुरक्षित उद्धार गर्नुका साथै ट्याक्सीमा सवार दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौंको लोलाङ बस्ने ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन्।
प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने तथा रकमको विषयमा सौदाबाजी गर्ने गरेको देखिएको छ। उनीहरूले महिलाहरू तथा बालबालिकालाई ललाई–फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित प्रमाणका रूपमा प्रहरीले बा.२ ज २३२७ नम्बरको ट्याक्सी एक थान, रेड्मी कम्पनीको एक थान मोबाइल र सामसुङ कम्पनीको एक थान मोबाइल बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका लक्ष्मण तामाङको हकमा यसअघि ०७३ भाद्र ३० गते जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको विवरण समेत फेला परेको छ।
हाल पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार कसूर तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

