सिन्धुली । सिन्धुलीको दुधौली–४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बिहान काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअपले ठक्कर दिँदा दुधौली–१ गिजियानी निवासी अन्दाजी ६०–६५ वर्षका मोहन धामी घाइते भएका थिए।
टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका धामीलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। ठक्कर दिने गाडी र चालक झापा सिवसतासी–७ का २९ वर्षीय अविशेक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ।

